बोधिवृक्ष आस्था, चेतना र चर्चा
बुद्धले ज्ञान प्राप्त गरेको ठाउँ बोध गया । बोध गयाको बोधिवृक्ष रहेको ठाउँ पवित्र मानिन्छ । त्यहीँनिर बसेर ध्यान गर्दा आफूलाई पनि बुद्धत्व प्राप्त हुने विश्वास गर्नेहरू पनि धेरै छन् । त्यहाँ पुग्दा धर्म हुन्छ भन्नेहरू पनि छन् । बौद्ध धर्मावलम्बिहरू त जीवनमा एक पटक पुग्नै पर्ने चार धाम मध्येको एक धाम मान्ने गर्दछन् । बुद्ध जन्मेको, उनले ज्ञान प्राप्त गरेको, शिष्यलाई पहिलो पटक दीक्षा दिएको ठाउँ सारनाथ र महानिर्वाणा प्राप्त गरेको कुशीनगर बौद्ध धर्मावलम्बीहरूले मान्ने चारधाम हुन ।
हामी चारधामका रूपमा नभए पनि पर्यटकका रूपमा बोधिवृद्ध परिसरको गेट पुग्न २ सय पाइला जति वर पुगेका थियौ । बाटोभरि मान्छेहरू यताउता अलमल गरिरहेका देखिए । नयाँ ठाउँ भएकोले यहाँ यस्तै होला भन्ने अनुमान गर्न पनि नसकिने गरी मान्छेहरूको अलमल देखियो । गेटभित्र जानलाइ झोला र मोबाइल बाहिर नै छाडेर जानुपर्ने रहेछ । मन्दिरको व्यवस्थापन समितिले मोबाइल लकर व्यवस्था गरेको रहेछ । मोबाइल लकर प्रयोग गर्न लामो लाइन त थियो तर पैसा तिर्न भने पर्नेरहेनछ । काउन्टर र लाइनको व्यवस्थापन लथालिङ्ग थियो ।
कतिपय आन्तरिक पर्यटकले मोबाइल फोन फिर्ता लिंदै पनि थिए । तर, उनीहरू मन्दिर भित्र जान नपाएकै कारण मोबाइल फोन फिर्ता लिंदै गरेको असनतुष्टि छचल्किँदै गरेको पाइयो । खै कुन देशको राष्ट्रपति त्यहाँ पुग्न लागेकोले सर्वसाधारण यात्रुका लागि आधा घण्टा गेट बन्द गरिएको गाइगुइ सुनियो ।
हामी मोबाइलबिहिन बनेर गेट पुग्न मान्छेको भीडभाड छिचोल्दै अघि बढ्यौं । बल्लतल्ल सुरक्षाकर्मीसम्म पुगेर सोध्दा बल्ल कम्बोडियाको राष्ट्रपतिको आगमनकालागि सहज बनाउन सर्वसाधारणकालागि बाटो छेकिएको थाहा भयो ।
बोधिवृक्ष परिसरको मन्दिर छिर्ने गेटको बायाँको फुटपाथमा भने भीड थिएन । स्टिलको जालीदार बारले बाटो दुई भागमा बाँडिएको रहेछ । छिर्न नपाएको भागको बाटोमा रातो कार्पेट बिछाइएको थियो । खुला फुटपाथमा हामी गेट खुल्दासम्मको फुर्सदको समय सदुपयोग गर्न हिँड्दै गयौं । फुटपाथको बायाँपट्टि फलामे बारले होचो गरी छुट्टाइएको खुला परिसर देखियो । त्यहाँ बौद्ध आस्थावान्हरू लम्पसार परेर छाती, घुँडा र निधारले भुइँ छुने गरी नमस्कार भावमा शीरतिर हात जोडेका देखिए । त्यसरि उनीहरूले बोधिवृक्ष तथा मन्दिरतिर फर्किएर प्रणाम गर्ने गर्दा रहेछन् । त्यसरि प्रणाम गरेर फेरि उठ्दा रहेछन् । ठिङ्ग उभिए पछि फेरि उस्तै गरी सतरन्न परेर प्रणाम गर्दारहेछन । हातमा घडी बानेका थिए । महिला पुरूष दुबै थरि थिए । सामान्य समय दिने घडी नभएर उनीहरूले त्यो प्रणाम कति पटक गरे भन्ने गणना गर्ने घडी रहेछ भन्ने बुझ्न सहज नै थियो ।
उनीहरूले भाकल गरेका हुँदा रहेछन् । देवीलाई बली चढाउने चलन जस्तै भाकल गर्दा रहेछन् । तर, बुद्धले अहिंसाको शिक्षा दिने हुनाले बली जस्तो हिंसाको भाकल बौद्ध आस्थावान्ले गर्ने कुरा भएन । त्यसैले होला आफ्नै शरीर माथि हिंसा हुने गरी दण्डवत् गर्दा रहेछन् । उनीहरूको कडा परिश्रम सहितको प्रणामको स्वरूप देख्दा पछि अलि दिनसम्म उनीहरूको शरीर अति धेरै दुख्छ होला भन्ने कल्पनाले मरो मन चसक्क पार्यो । जस्तो भए पनि आस्था न हो आलोचनात्मक चेत राख्यो भने उनीहरूको भावनामा चोट पुग्छ कि भन्ने डरले मेरो मन कुँडियो । आफ्नो माग पुरा भएमा जति पटक त्यसरि प्रणाम गर्छु भनेका छन् त्यो संख्या पुर्याउन पटक पटक प्रणाम गर्ने, एकछिन बिसाउने फेरि प्रणाम गर्ने गर्दा रहेछन् । अहिंसाको शिक्षा दिने बुद्धसङ्ग माग पुरा गरिदिए बापतमा भुक्तानी गर्ने प्रणाम संख्याको मनमनै करार गरेका हुँदा रहेछन् । मेरो बुझाइ तथा माथिको कथन सुनाउने ब्यक्ति कति सत्य हुन यस्सै भन्न सक्दिन । तर, उक्त कथनमा विश्वास गर्न नपर्ने कारण पनि भेटिरहेको छैन । जे होस उनीहरूको आस्था प्रति सम्मान छ ।
त्यसरि प्राणम गर्नेहरूको संख्या झण्डै एक सयजना जति देखिए । एकजनाले बिसाउँदा अर्कोले प्रणाम गर्ने गरेको पनि देखें । बुधिबृक्ष भनिने पिपलको बोट त त्यहाँ बाट देखिएको थिएन । उनीहरूले अग्लो मन्दीर तर्फ फर्किएर प्रणाम गर्ने गर्दारहेछन् । त्यही मन्दीरको पछाडिपट्टिको भागमा पिपलको रूख अहिले पनि छ । तर, बुद्धले साधना गर्दाकै पीपलको रूख अहिले सम्म त पक्कै बाचेको हैन । तर, उही पीपलबाट उत्पन्न बिरुवाका रूपमा चार पाँच पुस्ता पछिको अहिलेको पीपलको रूख हुनुपर्छ । अनुमान गर्न पाइयो नै ।
एकछिनको त्यो दृश्यबाट लठ्ठिएपछि हामी न गर्मी न जाडो भएको ठिक्कको तापक्रमको आनन्द अनुभव गर्दै अघि बढ्यौं । दिन घमाइलो थियो । फुटपाथ सिधै जाँदै थियो । तर, हामी बायाँपट्टि छिर्ने गेट जस्तोबाट भित्र पस्दा दायाँ बायाँ तिर्थालुले मन पराउने जस्ता विभिन्न सामान रखेका फुटपाथ पसल देखिए । माला, बुद्धका विभिन्न स्वरूपमा साना ठूला मूर्ति, गर्मी छल्न सहयोग गर्ने छत्तरे टोपी, लट्ठी जस्ता सामान बेच्न राखिएका थिए ।
अलि अगाडि महादेवको मन्दिर रहेछ । आधुनिकता झल्कने मार्बल आदिले जाज्वल्यमान पारेको देखियो । हुन त मन्दीर अलि पुरानै भए पनि आधुनिकताको लेप लगाएर धर्ममाथि व्यापार गर्ने चलनको साक्षीका रूपमा केही समय अघि मरम्मत गरिएको पनि हुन सक्छ । साहयात्री साथीले मन्दिर भित्रको मूर्ति प्रति आशक्ति देखाउँदै हुनुहुन्थ्यो । तर मेरो भावनाले उहाँ लाइ पनि परिवर्तन गरिसकेको रहेछ । 'थ्री इडियट्स' भन्ने फिल्ममा हिरो अमिर खानले एउटा ढुङ्गो ठाडो पारेर चपाउँदै गरेको पानको रातो थुक थुकेर छाडेको सीनको चर्चा गर्नुभयो । उक्त फिल्ममा एकैछिन पछि अरू व्यक्तिले भगवान भन्दै त्यही ढुङ्गो ढोग्ने र दक्षिणा चढाउने गरेको दृश्य दर्साइएको छ ।
मेरा सहयात्री साथी ओशोका प्रवचनको अम्मली पनि हुनुहुन्छ । उहाँले ओशोका तर्ककै तरिकाले तर्क गर्नु भयो र भन्नु भयोः अमिर खानले जस्तै ढुङ्गो कुदेर भगवानको आकृति बनाएर राखेपछि मन्दिरमा मान्छेले दक्षिणा चढाउन थालिहाल्छन् । तर आस्थाको विषयमा तर्क स्वीकार नहुन पनि सक्छ । त्यसैले त फिल्म बनाएर तर्क प्रस्तुत गर्दा अमिर खानले पनिले पनि विरोध खेप्न परेको थियो ।
बोधिवृक्षको महत्व भएको मन्दिरको ढोका हाम्रालागि खुला नहुँदासम्म यताउता घुम्दापनि पट्याटलाग्दो भयो । पट्याटलाग्दो समय यताउता ओहोरदोहोर गरिसकेपछि बल्ल गेट खुल्यो ।
तर मन्दिर भित्र जाने भिडले असहिष्णुता प्रदर्शन गर्दै तँछाड-मछाड गर्दै उछिनाउछिन गर्न थाले । मानौ सभ्य हुँ भन्ने मान्छेहरूले धैर्यता गुमाएर असभ्य हुने बानी दोहोराइ राख्छ । हेर्दा कडा देखिने चेकजाँच गरेर हामी पनि भिडमा मिसिएर भित्र पस्यौ । 'अर्को व्यक्तिलाई बाटो छाडि दिएपछि आफ्नालागि पनि बाटो सफा हुन्छ' भन्ने नीतिकथा पनि अवस्था अनुसार काम नलाग्ने रहेछ । मान्छेहरू धकेलाधकेल गरेको ठाउँमा नधेक्लनु मात्र पनि ठूलै कुरा हुने रहेछ ।
भित्र पसेपछि झन् धकेलाधकेलको लाइन भेटियो । मन्दिर भित्र पस्ने लाइन । लाइनमा बस्ने मान्छेहरूले भूर्इमा खस्न लागेको पिपलका पात हात पार्न मरिहत्ते गर्दारहेछन् । आखिर बुद्धले ज्ञान प्राप्त गरेको ठाउँको पिपलको रूखको पात प्रति आस्थावान्हरूको भावना झल्कने नै भयो ।
मेरा साथीले पनि एउटा पात भेटि हाल्नु भयो । मसारमुसुर पारेर झोलामा राख्नुभयो ।
मन्दिरको ढोकाबाट छिर्नेबेलामा कति धकेलाधकेल रहेछ भने म हिँडिरहेको थिइन तर भीडले मलाइ धकेलेर नै भित्र छिराउँदै थियो । लाइन त सभ्य नै थियो तर ढोका छिर्ने बेलामा त्यत्रो भिड र धकेका धकेल कसरि भयो भन्ने मैले बुझ्न पनि सकिन । भिडको सभ्यतामा हुलिएपछि लाइन बस्ने नियम पालन गर्न सकिंदोरहेन छ । ढोकाको त्यो भिडमा मेरो मुखबाट निस्कियोः "बुद्ध ने यहि सिकाया था क्या ?" । मेरा शब्दले एक-दुर्इ जना हच्किएको त देखियो तर, हच्किनेहरूलाइ पनि हच्किन नदिने परिस्थितिका अगाडि उनीहरू पनि म जस्तै निरीह देखिए ।
भित्र क्यामरा ल्याउन नपाएकोले फोटो खिच्ने कुरै भएन । तर, ठुलाठूला काँधमा बोक्ने मुभी क्यामरा बोक्ने मिडियाकर्मीहरूले भने परिसर भित्र फोटा र भिडियो खिच्दै थिए । मुल मन्दिर भित्र भने मैले उनीहरूलाई देखिन ।
मूर्तिका अगाडि आस्था दर्शाउन मान्छेहरूले अनेक तरिका अपनाउँदै थिए । मानौ २५ सय वर्ष पछि पनि बुद्धले त्यहाँ पुगेका आस्थावान्हरूलाई मुक्ति दिइहाल्छन । जे होस त्यहाँ पुगेका मान्छे एक छिन भए पनि बुद्धको विषयमा दिमाग घुमाएर अरू चिन्ताबाट अलग पक्कै हुन्छन् होला । म भने तमासा र आस्थाका नामको 'नाटक धेरै भावना कम' देखेको विषयका कुरा मनमा खेलाउँदै थिएं । त्यसैले म किटनीका साथ के भन्न सक्छु भने त्यहाँ पुग्ने आस्थावानहरूले मैले भन्दा धेरै शान्ति महशुस गरिहेका थिए ।
मन्दिर भित्रबाट निस्किएपछि वरिपरि तीन पटक घुम्न मिल्ने परिसरको तह रहेछ । मुल मन्दिर र पोखरी बीचको भागमा रात बिताउँदै त्यहाँ बसेका आस्थावान्हरूका टेन्टहरू देखिए । त्यहाँबाट पोखरी तिरको अग्लो भागमा ठूलो टेन्टभित्र प्रबचन र ध्यान केहि दिनदेखि चलेको देखियो ।
सिक्किम तिरबाट बोधगया पुगेका नेपाल भाषीहरू त्यो सभामा सामेल हुन पुगेको अनुमान गरें । नेपाली भाषीहरू ढुङ्गेश्वर पहाड तिर पनि थुप्रै भेटिएका थिए । त्यसैले पनि त्यो अनुमान गरें । मन्दिर छेउँका टेन्ट र सभाहल बनेको टेन्ट बीचबाट दोस्रो तहको मन्दिर परिक्रमा गर्ने क्रम पनि अपनायौ । हामी परिक्रमा गर्दै मन्दिर पछाडिको भागमा रहेको पिपलको रूखसम्म पुग्दा त्यहाँ पलेटी कसेर आस्था जनाउनेहरूको गतिविधि केहीबेर छेउँमा बसेर हेर्यौ ।
त्यसपछि अघि बढ्दा फूलले ढाकेको मन्दिरद्वारको दायाभाग तिर ढुङ्गे टेबल जस्तो लामो भाग फूलले ढाकिएको थियो । तलपट्टि मान्छेले टेकेको पाइला जस्तो देखिने ठूलै आकारका पाइलाका लस्कर देखियो । बुद्धको चरणको डाम भनेर पुजा गर्ने चलन रहेछ । त्यसको मुखैमा एक बौद्ध धार्मिक गुरूको पहिरनका व्यक्ति भेटिए ।
उनले ती बुद्धका पाइला लगायतका विषयमा फूलले ढाकिएको ठाउँमा फूल तर्काएर हामीलाई देखाउँदै थिए । उनको गतिविधि हामीले त्यहाँ अलि धेरै दक्षिणा चढाउन भन्ने भावनाले उत्प्रेरित गरेको भान भयो । बुद्ध साधारण ब्यक्ति नभएर १७ फिट अग्ला थिए त्यसैले पाइला पनि ठूला हुने नै भए भन्दै उनले गरेको ब्याख्याले मलाइ खल्लो तुल्यायो ।
आस्थावान्ले विश्वास गर्ने विषयमा त स्वतन्त्रता पाउनै पर्छ । झुटा विवरणका भरमा झूट फैलाउन नहुने थियो । झट्ट मेरो दिमागमा अर्कै कुरा आयो । उनलाई गलत सावित गर्न मसङ्ग पनि बुद्ध १७ फिट अग्ला थिएनन् भन्ने प्रमाण पेश गर्ने उपाय थिएन । तर आस्थाका भरमा भनिने तथ्यका लागि प्रमाण पेश गर्नु पर्दैन । मैले उनलाइ झुटा भन्न प्रमाण नभएसम्म बोल्नु हुँदैन ।
© www.amaaba.org