गयादेखि गङ्गातट
बोधिवृक्षको अवस्था र परिदृष्यको साक्षी बसेपछि हामी राति नै बनारसको बाटो ततायौं । हामी बनारस पुग्दा रातिको २ बजेको थियो । विहान हामी बनारस हिन्दू विश्वविद्यालय(बीएचयू)को नेपाली विभाग जान हिँड्यौ । अझ पहिला त नालन्दाबाटै फोनमा कुरा भएको र शिलभद्रका विषयमा जानकारीका श्रोतका रूपमा डा. उमाशंकर ब्यासलार्इ भेट्ने विचार थियो । फोन गर्दा उहाँको बासस्थान बनारस भएपनि पारिवारिक कारणले बम्बइ हुनुहुँदोरहेछ भन्ने थाहा भयो । फोनको सम्बादमा उहाँले शीलभद्रको विषयमा तारानाथको 'हिस्ट्रि अफ बुद्धिजम इन इण्डिया' भन्ने किताबमा जानकारी भेटिने बताउनु भयो । अजन्ता र नालन्दाको सम्बन्ध खोज्नकै लागि म शीलभद्रको गुरू पत्ता लगाउने विचारमा छु ।
मेरो दिमागमा अजन्ताका गुफाको शिक्षाकेन्द्र नालन्दामा सरेको विश्वास जागेको छ । त्यसको यथार्थ बुझ्ने आधार खोज्न म प्रयाशरत छु । चिनबाट सन् ६२९मा हिंडेर नालन्दा पुगेपछि हुज्यानले ६४५सम्म् नालन्दामा अध्ययन अध्यापन गरेका थिए । हुज्यानका गुरू शीलभद्र हुन । गुरू पच्छाउँदै लक्ष्य भेट्न सकिन्छ भन्ने सोचेर यो प्रयास गर्न थालेको हुँ ।
नालन्दा चौथो सताब्दिदेखि अध्ययन अध्यापन केन्द्रका रूपमा विस्तार भएको थियो । शीलभद्रको पालामा नालन्दा राम्रोसङ्ग विस्तार पनि भयो ।
राजा हर्षबर्धनको समयमा धर्मसभा भएको थियो । उक्त शाष्त्रार्थमा शिलभद्रको तर्क स्थापित भयो । सवै विद्वानहरू सहमत हुन सके र उनको तर्क खण्डन हुन सकेन । त्यस बापतमा राजाले एक सय गाउँको कर नालन्दा महाविहार (विश्वविद्यालय)को खर्चकालागि दिने गरेका थिए । हुज्यानका लेखनबाट यसको पुष्टि हुन्छ । हुज्यानले नालन्दामा विद्यार्थीकालागि समेत खान बस्न निशुक्ल उपलब्ध हुने ब्यवस्थापनको ब्याख्या गरेका छन् । तीन भागमा बाँडिएका बिशाल तीनवटा पुस्तकालय रहेको जनाएका छन् ।
यता नालन्दामा पर्याप्त भौतिक संरचनाका साथै आचार्य र शिष्यहरूलार्इ सुविधा उपलब्ध भयो । उता, अजन्ताका गुफा तिर पाँचौ शताब्दीदेखि छैठौ सताब्दीसम्म पानी नपरेर सुख्खा भएको थियो । आकाशबाट पानी नपर्दा ती गुफामा समस्या परेको बस्तुस्थितिले पुष्टि गर्छ । अजन्ता गुफामा गर्मी महिनामा पानीको मुल श्रोत आकासबाट परेको पानी नै थियो । छेउँमा बाघर नदी त छ तर खासै धेरै पानी छैन र लामो समय खडेरी पर्दा सुक्छ ।
इतिहाँसविदहरूले पाँचौ शताब्दीको अन्तदेखि छैठौ सताब्दिसम्म पानी नपरेर खडेरी भएको उल्लख गरेका छन् । संसारैभरि नै खडेरी परेको भन्छन् । हुज्यानले यात्रा सुरूगरेको वर्ष चीनमा पनि खडेरी परेको थियो ।
अजन्ताको ८ नम्बर गुफा निर चट्टानभित्र पानी जम्मा गर्ने ठूलो भूमिगत टेङ्की बनाइएको छ । चट्टानभरि कुलो बनाएर त्यो पानी उक्त ट्याङ्कीमा जम्मा हुने संरचना छ । त्यसबाट नजिकमा पानीको मुल छैन भन्ने नै देखिन्छ । टाढाबाट पानी ल्याउन अहिले जस्तो प्राविधिक सुविधा पनि थिएन । त्यहि पानी सङ्कलन गर्न बनाइएको कुलोका कारण पारिको डाँडाबाट हेर्दा नालन्दा गुफाको चट्टानमा प्यागोडा शैलीको छानो बनाएको जस्तो देखिन्छ ।
गुफामा इसापूर्व दुर्इ शताब्दी पहिलादेखिका उच्च कोटीका चित्रसमेत छन् । चित्रमा बुद्ध शिक्षाका जातक कथाहरू रचिएका छन् ।
त्यहाँका चैत्यहरू अध्ययन केन्द्रका रूपमा पहिलादेखि स्थापित थिए भन्ने पुष्टि हुन्छ । तर, छैठौँ शताब्दीदेखि सन् १८१९ सम्म मानव सभ्यताबाट ती गुफा अपरिचित थिए । बेलायती अफिसर जोन स्मिथ सिकार गर्दै जाँदा संयोगबस ती गुफा भेटिएका हुन। उनी महाराष्ट्र, भारतको वाघोरा नदी नजिकको घना जङ्गलमा शिकार खेल्ने क्रममा थिए । त्यहाँ उनले अहिले नम्बर १० भनेर चिनिने गुफाको प्रवेशद्वार फेला पारे। सो गुफामा प्राचीन बौद्ध चित्रकला तथा मूर्तिहरू रहेको थियो।
अजन्ताको गुफाको शिक्षाकेन्द्र गायब भएको समय र नालन्दामा शीक्षा सुविधा उपलब्ध भएको समय खण्ड केलाउँदा बनेको मेरो विचार हो । त्यसैले हो अजन्ता नालन्दामा गाभिएको हो हैन भन्ने जिज्ञासा पुरा गर्न पनि मेरो अहिलेको भ्रमण जुरेको हो । त्यसैले अब मैले तारानाथको उक्त पुस्तक भेट्नु पर्ने भयो ।
हामी सरासर बीएचयू पुगेर गेट देखि सोध्दै सोध्दै नेपाली विभाग पुग्यौं । बीएचयू परिसर धेरै ठूलो छ भन्ने त मलाइ थाहा थियो ।
मदनमोहन मालवियले दिनभरि हिड्न सकेजतिको भूमि यूनिभर्सिटी बनाउन राजाले प्रदान गरेको विवरण मैले सुनेको छु । नभन्दै धेरै नै पर पुगेर बायाँ मोडिएपछि थोत्रो भवनमा पुगियो । अचम्म के लाग्यो भने त्यत्रो यूनिभर्सिटीमा कुन विभाग कता छ भन्ने बताउने सूचनाहरू नै रहेनछन् । प्राज्ञिक परिसरको नक्सा जनाउने सूचना पनि गेट तिर कतै भेटिएन । कुनै समयमा संसारमै राम्रो मध्येको एक भनेर चिनिएको उक्त यूनिभर्सिटीको प्राज्ञिक पक्ष दयनीय भएछ भन्ने लाग्यो ।
नेपाली विभाग भएको भन्दा ठीक अगाडि पाली भाषा विभागको बोर्ड देखियो । नेपाली बिभागका डा मुकुन्द शर्मा केहि दिनकोलागि नेपाल जानुभएको रहेछ । डा अमित थापासङ्ग भेट भयो । उहाँले भारतमा प्रकाशित पहिलो पत्रिका "उदय"को विषयमा जानकारी दिनु भयो । उहाँको अनुसन्धान पनि उक्त पत्रिका विषयमा नै रहेछ । उहाँको थेसिस र उदयका केहि अङ्क पनि देखाउनु भयो । तर, अवलोकन मात्र भयो पत्रिका केलाउने काम गर्न भ्याइएन ।
हसयात्री साथीको नेपाली विभागका प्राज्ञ दीवाकर प्रधानसङ्ग परिचय रहेछ । त्यसैको आधारमा उहाँलाइ फोन गर्दा उहाँ पनि विदामा बनारस भन्दा बाहिर जानुभएकोले अमित थापाको फोन नम्बर दिनुभएको थियो ।
त्यहाँबाट हामी निस्कँदा पेटले खुराक खोजेको जानकारी गरायो । रोटी सब्जीको सादा भोजनालय खोज्दै अगाडि बढ्दा माथि तलामा पिजा हट देखियो । वास्तवमा देखिएको भन्दा पनि एक विद्यार्थी केटीलाइ सोध्दा उनले जनाएको खाना खाने ठाउँ थियो त्यो । बीएचयू अगाडिको त्यो टोललाइ लङ्का भनिन्छ । अर्थात बनारसमा पनि लङ्का छ ।
हामी होटलबाट झोला लिएर नेपाली आश्रम पुग्यौं । बनारसको गली भित्रको उक्त आश्रम मरम्मतका लागि सिक्किम सरकारको सहयोगको विवरण मार्बलमा कुदेर लेखिएको रहेछ । ढोका छिर्नु अघि नै देखियो ।
तल्लो तलाको मन्दीर परिसरमै हामीलाइ दुर्इ विद्यार्थी र दाङ घर बताउनुहुने त्यहीँ बस्ने ब्यक्तिले हामीलार्इ स्वागत गर्नु भयो । नेपाली स्वामित्वको भूमिजतिमा आश्रम निर्माण भएकोरहेछ । गलीका सवै घरले एक अर्कासङ्ग कुम जोडेरै उभिएका रहेछन् ।
माथि कोठामा पुगेपछि आश्रमका ब्यवस्थापक रोहित जीसङ्ग भेट भयो । नसिलाएका गेरू बस्त्रमा लामा दाह्री र तल कम्मरसम्म झुण्डिएका कपालका लटाले पुरै जोगी स्वरूप देखियो । पछि सम्बाद गरेपछि उहाँलाइ त्यो आश्रम र विश्वनाथ मन्दीरको नेपाली मठ मन्दिरको ब्यवस्थापनले ब्यस्त बनाएको रहेछ । रूप अनुसार अध्यात्मिक चिन्तनमा उहाँले समय नै निकाल्न नसक्ने गरी ब्यवस्थापक बन्नुभएको रहेछ ।
एकछिनको विश्रमा पछि हामी रोहितजीसङ्ग नै बनारसका भिङभाडसहितका गल्ली छिचोल्दै पैदल विश्वनाथ मन्दिर पुग्यौं । साथी नभए गएकै गल्ली पच्छाएर आश्रममा फर्किन नसक्ने अवस्था स्वीकार गर्छु । तर, फर्कँदा पनि रोहितजीकै पछि लागियो ।
विश्वनाथ मन्दिर मरम्मत गर्ने क्रममा नेपाली मठको भूमि र भवन जोगाउन कडा मेहनत गर्न परेको विवरण रोहितजीले सुनाउनु भयो । चिल्ला मार्बलहरूले आधुनिकताको लेप लगाउन खोजेको विश्वनाथ मन्दिर दायाँ पारेर हामी गङ्गाको तटमा रहेको नेपाली मठ र मन्दिर पुग्यौं ।
बनारस प्राचिन कालदेखि नै प्राज्ञिक अभिभारा बोकेको शहर हो । उक्त भाव जनाउने थेगोको रूपमा मेरा सहयात्री मित्र माधव ज्ञवालीले पटनादेखि नै पटकपटक भन्नुभएको शब्दावली मलार्इ खुवै घत लागेको छ " पढे लिखेतो नहिं है, बनारसके रहने वाले हैं" । बनारसमा बस्नेहरूको प्राज्ञहरूसङ्ग सङ्गत हुने हुनाले प्रमाणपत्र नभएपनि राम्रै ज्ञान हासिल गरेका हुन्छन् भन्ने उहाँका ती शब्दले ब्याख्या गर्थे ।
© www.amaaba.org