बालेनको आँखामा गान्धीको गोलो चस्मा भए ? - Blog Details

Blog Details

  • Home
  • Blog
  • बालेनको आँ...
बालेनको आँखामा गान्धीको गोलो चस्मा भए ?
घडी मेकानिकको त्यो एक आँखे चस्माले मसिना पुर्जाहरू जोडेझैँ, अबको नेतृत्वले फुटेको नेपाली समाजका जातीय टुक्राहरूलाई न्यायको आधारमा जोड्न सक्नुपर्छ।

बालेनको आँखामा गान्धीको गोलो चस्मा भए ?

11 Mar, 2026

बालेनको आँखामा गान्धीको गोलो चस्मा भए?


नेपाली समाजको वर्तमान तस्बिर एउटा अनौठो विरोधाभासको बीचमा उभिएको छ। एकातिर हामी 'डिजिटल युग' र 'नयाँ नेतृत्व'को कुरा गरिरहेका छौँ । अर्कोतिर अल्गोरिदम बदनाम पनि छ। अर्कोतिर जाजरकोटका नवराज विक र उनका साथीहरूलाई जातको नाममा भेरी नदीको किनारमा लखेटी-लखेटी मारिन्छ। यो हत्या केवल एउटा अपराध थिएन, यो त हाम्रो सामाजिक संरचनाभित्र लुकेको त्यो 'दोषी चस्मा'को परिणाम थियो, जसले मानिसलाई मानिस देख्न छाडेर 'जात' मात्र देख्छ। यसै सन्दर्भमा, नेपालको सम्भावित नेतृत्वको रूपमा हेरिएका बालेन शाहको चस्माको राजनीति र गान्धी–अम्बेडकरको दर्शनको संश्लेषण आजको टड्कारो आवश्यकता बनेको छ।

कालो चस्मादेखि गान्धीको गोलो चस्मासम्म

चस्मा केवल दृष्टि सच्याउने साधन मात्र होइन, यो एउटा दृष्टिकोण पनि हो। चस्मा लगाएको सबैभन्दा सुहाएको अनुहार महात्मा गान्धीको देखिन्छ। गान्धीको त्यो पावरवाला गोलो चस्मा पारदर्शी थियो, जसले उनको नजरलाई लुकाउँदैनथ्यो। उनका अनुयायीहरूले गान्धीका आँखाबाटै अहिंसा र जनप्रेमी विचार पढ्न सक्थे। गान्धीको चस्माले समाजको भूर्इ मान्छेलाई हेर्ने सामर्थ्य राख्थ्यो।

अर्कोतर्फ, आधुनिक नेपालको राजनीतिक मञ्चमा बालेन शाहको 'रङ्गीन चस्मा' एउटा पहिचान बनेको छ। यो नजर लुकाउने चस्मा हो। यसले एउटा रहस्यमयी र विद्रोही स्वभाव त दर्शाउँछ, तर प्रश्न उठ्छ— के यो चस्माले समाजको पिँधमा रहेका नवराज विकहरूको रोदन देख्न सक्छ? गान्धी र अम्बेडकर दुवैले चस्मा लगाए, तर ती चस्माहरू कमजोर भएका आँखालाई पढ्न सक्ने बनाउन र नजिकका वस्तु स्पष्ट देख्नका लागि थिए। बालेनले अब आफ्नो 'नजर लुकाउने' कालो चस्माको ठाउँमा गान्धीको 'पारदर्शी गोलो चस्मा' लगाउनु पर्छ, जसले गर्दा उनले समाजको पिँधमा रहेको जातीय विभेदको कुरुप ऐनालाई स्पष्ट देख्न सकून्।

हत्याकाण्ड र सामाजिक संरचना

नवराज विकको हत्या हुनुको पछाडि उनी र उनकी प्रेमिकाबीचको जातको पर्खाल थियो। यो पर्खाललाई भत्काउन नसक्ने हाम्रो सामाजिक संरचनाका लागि राज्यको भावी नेतृत्वले क्षमा माग्नु अनिवार्य छ। बीपी कोइरालाले 'दोषी चस्मा' कथामा राणाकालीन कर्मचारीको चाकडी प्रथा र मनोविज्ञानको शल्यक्रिया गरेझैँ, आज हामीले हाम्रो मति र दृष्टिमा लागेको 'जातीय अहंकारको चस्मा'को शल्यक्रिया गर्नुपर्ने भएको छ।

"जबसम्म नेतृत्वले नवराज विक मारिने स्तरको विभेद कायम राख्ने संरचनाप्रति नतमस्तक भएर क्षमा माग्दैन, तबसम्म कुनै पनि 'विकास'ले सार्थकता पाउँदैन।"

बालेन शाहले गान्धीवादी नैतिकता प्रदर्शन गर्दै यस ऐतिहासिक अन्यायका लागि माफी माग्नु र अम्बेडकरवादी दृढताका साथ न्यायको वकालत गर्नु नै आजको 'स्टेट्सम्यानसिप' हो। बिडम्बना के छ भने नेकपा माओबादी पार्टीका मान्छेहरू नै नवराज हत्यामा संलग्न पाइयो। जुन पार्टीले विभेद विरूद्ध हतियार उठाउने मनोबल तयार पार्यो त्यहि पार्टीको हविगत यस्तो? जर्ज अर्वेलले ‘एनिमल फार्म’ पुस्तकमा सबै पसुहरू बराबर छन् तर केही पसूअरू विशेष समानाताको अवसर पाउँछन्, भने झै नेपालका कम्निष्ट नेतृत्वको भाषा प्रमाणित भयो।

अम्बेडकर र गान्धी: जातीय मुक्ति र वर्गको सवाल

डा. भीमराव अम्बेडकरले स्पष्ट भनेका थिए— "जबसम्म जातीय व्यवस्था उन्मूलन हुँदैन, तबसम्म वर्गविहीन समाजको परिकल्पना सम्भव छैन।" यहाँ गान्धी र अम्बेडकरबीच एउटा गहिरो वैचारिक अन्तर्विरोध देखिन्छ। गान्धी 'हृदय परिवर्तन' र वर्ण व्यवस्थाको शुद्धीकरणमा विश्वास गर्थे भने अम्बेडकर जातको समूल नष्ट (Annihilation of Caste) चाहन्थे। शब्दमा बर्गविहिन समाजको परिकल्पना त राजा महेन्द्रको २०१९ को संविधानमा पनि उल्लेख थियो।

नेपालको सन्दर्भमा यो द्वन्द्व अझै सान्दर्भिक छ। हामीकहाँ 'वर्ग'को कुरा गरेर 'जात'को मुद्दालाई ओझेलमा पार्ने गरिन्छ। तर नवराज विकको घटनाले प्रमाणित गरिदियो कि मानिसको आर्थिक वर्ग जतिसुकै माथि उठे पनि उसको 'जात'ले उसलाई मृत्युको मुखसम्म पुर्‍याउन सक्छ। अम्बेडकरले जस्तै पावरदार चस्मा लगाएर समाजको गहिराइ पढ्ने हो भने देखिन्छ— जात केवल श्रमको विभाजन होइन, यो श्रमिकहरूको विभाजन हो। त्यसैले, जातीय मुक्ति बिनाको वर्ग विहीनताको नारा केवल एउटा मृगतृष्णा मात्र हो।

चस्माको सौन्दर्य र विभेदको कुरूपता

मोहम्मद रफीले "तेरी प्यारी प्यारी सूरत को..." भन्ने गीत गाउँदा चस्मालाई रूपको वर्णनमा एउटा बहाना बनाएका थिए। किशोर अवस्थामा आँखा जुधाएर मन साट्नुको मजा बेग्लै हुन्छ, तर जब त्यही आँखा जुधाइमा 'जात' तगारो बनेर आउँछ, तब चस्माभित्रका नजरहरू त्रसित बन्छन्। पारदर्शी चस्माभित्रका नजर पढेर रूपको वर्णन गर्नु प्रेमको स्वाद हो, तर घाम छेक्ने बहानामा नजर चोर्ने र विभेदलाई प्रश्रय दिनेहरूसँगको संगत घातक हुन्छ।

प्रविधिले आज कन्ट्याक्ट लेन्स र लेजर उपचारसम्मको यात्रा तय गरिसक्यो, तर मानिसको 'सोच' मरम्मत गर्ने प्रविधि अझै आएको छैन। बालेनको गीतबाट विचार बुझ्ने पुस्ताले यो बुझ्न जरुरी छ कि चस्मा फेर्न सजिलो छ, तर चस्माले हेर्ने 'नजरिया' फेर्न कठिन छ।

नयाँ नेतृत्वको बाटो

बालेन शाह वा उनीजस्ता सम्भावित नेतृत्वले अब एउटा नयाँ संश्लेषण गर्नुपर्छ। उनले गान्धीको जस्तो 'नैतिक साहस' र अम्बेडकरको जस्तो 'संवैधानिक विद्रोह'लाई सँगै लैजानुपर्छ। 'बागवान' चलचित्रमा अमिताभ बच्चनको फुटेको चस्माले दुई पुस्ताको अन्तर्विरोध देखाएझैँ, नवराज विकको घटनाले पुरानो जडसूत्रवादी पुस्ता र न्याय चाहने नयाँ पुस्ताबीचको खाडल देखाएको छ।

नेपालको प्रधानमन्त्री बन्ने सपना बोक्ने कुनै पनि व्यक्तिका लागि अबको बाटो भनेको:

  • कालो चस्माको रहस्यमय व्यक्तित्वबाट बाहिर निस्केर गान्धीको पारदर्शिता अपनाउनु।
  • अम्बेडकरले भनेझैँ जातीय मुक्तिको मुद्दालाई वर्ग संघर्षभन्दा माथि राख्नु।
  • नवराज विकजस्ता हजारौँ पीडितहरूको घाउमा न्यायको मलम लगाउन राज्यको तर्फबाट क्षमा माग्नु।

अन्त्यमा, घडी मेकानिकको त्यो एक आँखे चस्माले मसिना पुर्जाहरू जोडेझैँ, अबको नेतृत्वले फुटेको नेपाली समाजका जातीय टुक्राहरूलाई न्यायको आधारमा जोड्न सक्नुपर्छ। चस्मा फेरेर मात्र हुँदैन, चस्माले हेर्ने संसार फेरिनु पर्छ।

Leave a Review

Reviews (0)

No reviews yet. Be the first to review this blog!